No Image Headlineअर्थमुख्य खबरविशेष

प्रभावकारी बन्दै भीसीटीएस, अवैध कारोबार र राजस्व छल्ने व्यापारी उच्च निगरानीमा

Thrill Factory
Rungta Group

वीरगञ्ज- मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) कर छल्ने व्यवसायीहरुका लागि गलाको पासो बनेको छ । बस्तुको बिक्रीको बील एकथरि, तर कर प्रयोजनका लागि देखाउने कारोबार बेग्लै बनाउने व्यवसायीहरु भीसीटीएसका कारण तिल्मिलाएका छन् ।

वैध कारोबारलाई प्रोत्साहन गर्ने र राजस्व छल्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले ३ वर्षअघि सरकारले लागू गरेको भीसीटीएस प्रणालीमार्फत अहिलेसम्म ५४ खर्ब ८९ अर्ब रुपैयाँबराबरको कारोबार भएको राजस्व अनुसन्धान विभागको तथ्यांकले देखाएको छ ।

राजस्व अनुसन्धानका अनुसार भीसीटीएसमा बढी बील काट्ने र त्यही कारोबारको आय विवरण प्रयोजनका लागि न्यून कारोबार देखाउने व्यापारीलाई पनि यो प्रणालीले निगरानीमा राख्न सहज भएको छ । यसका लागि आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धानबीच समन्वय भएको एक उच्च अधिकारीले बताए ।

यो प्रणाली कार्यान्वयनमा आएपछि तस्करीको मालसामान बोक्ने काममात्र निरुत्साहित भएको छैन, आय कर छल्ने प्रवृत्ति पनि कारवाहीको दायरामा आएको आन्तरिक राजस्व विभाग स्रोतले बताएको छ ।

यो प्रणाली कार्यान्वयन गर्दै आएको राजस्व अनुसन्धान विभागका अनुसार भीसीटीएसमा बढी मूल्यको बील काट्ने र आन्तरिक राजस्व कार्यालयमा कम कारोबार देखाएर कर छल्ने केही व्यापारिक प्रतिष्ठान कारवाहीको दायरामा आएका छन् । त्यस्ता व्यापारीहरुमाथि निगरानी बढाइएको पनि विभागले बताएको छ ।

अवैध कारोवारमा संलग्न व्यक्तिलाई कानूनी कठघरमा उभ्याउँदै वैध कारोबारबाट करको दायरा बढाउन सरकारले ल्याएको यो प्रणालीमा छोटो समयमा नै प्रभावकारी हिसाबले कार्यान्वयनमा ल्याउन सकिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्य बताउँछन् ।

पछिल्लो समय भीसीटीएस प्रणाली प्रयोग गर्ने प्रयोगकर्ताहरू समेत बढ्दै गएको विभागले बताएको छ । ३ वर्षको अवधिमा यो प्रणालीमा प्रयोगकर्ताको संख्या १ लाख २८ हजार ८ सय पुगेको छ । गत असारसम्ममा १ करोड ८१ लाख ७ हजार बिलहरू भीसीटीएस प्रणालीमा समावेश भएका छन् ।

यो प्रणाली वैध व्यापारको प्रवद्र्धन र अवैध व्यापार तथा कर छल्ने प्रवृत्तिलाई निरुत्साहनका लागि प्रभवकारी भएको ढुवानी व्यवसायी राजेन्द्र गुप्ता बताउँछन् । यसबारे निजीक्षेत्र, आयातकर्ताहरूले सहज रूपमा बुझ्न नसक्दा शुरुमा अन्योल देखिए पनि यसको प्रभावकारिता बढ्दै गएको बुझाइ गुप्ताको छ । यसको कार्यान्वयन अझ सहज र प्रभावकारी हुनुपर्ने सुझाव उनको छ ।

प्रारम्भिक चरणमा अस्पष्टता रहँदा आयातकर्तामा अन्योल भए पनि सरकारी अधिकारीहरूले त्यसबारे बुझाउँदै जाँदा यो प्रणालीको कार्यान्वयन प्रभावकारी हुँदै गएको व्यवसायी बताउँछन् । प्रणालीले व्यवसायमा स्वच्छता र वैध कारोबारलाई सघाएको छ ।

गतवर्षको बन्दाबन्दीमा भन्दा यसपालिको निषेधाज्ञामा धेरै कारोबारलाई विभागले भीसीटीएस प्रणालीमा ल्याउन सफल भएको छ । यसले अवैध कारोबार नियन्त्रण हुँदै गएको विभागको दाबी छ ।

राजस्व अनुसन्धान विभागले यो प्रणालीमार्फत राजस्व छली र विदेशी विनिमय अपचलमा पनि निगरानी गर्दै आएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अर्थ मन्त्रालयमातहत रहेको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतमा ल्याएर भीसीटीएस प्रणाली कडाइका साथ लागू गरेको थियो ।

के हो भीसीटीएस ?
भीसीटीएस प्रणाली एक ठाउँबाट अर्को ठाउँसम्म मालसामान ढुवानी गर्न राजस्व अनुसन्धान विभागले प्रयोगमा ल्याएको अनलाइन फारम हो । जहाँ बिलबीजक, प्यान र भ्याट नम्बर, वस्तुको मूल्य, परिमाण, सामानको गन्तव्य, गाडी नम्बरलगायत भर्नुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button