पक्षघात, प्यारालाईसिस, लकुवाजस्ता नामहरूले सम्बोधन गरिने यो रोग केन्द्रीय स्नायु तन्त्रको (मष्तिस्क) कार्यक्षमतामा अचानक आएको ह्रास (मष्तिस्क घात) को कारणले हुने गर्दछ ।
मष्तिस्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनली भित्रै खुनको थेग्ला जमेर वा टाउकामा चोट लाग्न गई वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरुमा भोजनबाट प्राप्त पोषकतत्वहरु र प्राणवायु अक्सिजन आपूर्ति हुन नसक्दा स्नायु तन्तुहरु मर्न जाने समस्यालाई मष्तिस्क घात भनिन्छ ।
विश्व स्वस्थ्य संगठनले सन् २०११ मा सार्वजनिक गरेको तथ्याङ्कानुसार विश्वभर हरेक वर्ष एक करोड़ ७० लाख मानिसहरू मष्तिस्क घातको चपेटामा पर्ने गरेका छन् । जसमध्ये ६२ लाखको मृत्यु हुने गरेको छ । बाँचेकामध्ये आधा रोगीहरू दीर्घकालीन पक्षाघात (हेमीप्लेजीया) भएर नारकीय जीवन जीउन बाध्य छन् ।
बाँचेकाहरूमध्ये दीर्घकालीन विकलाङ्गीहरूलाई छाडेर अरु १६ लाख चिकित्सकीय सेवा पश्चात सामान्य जीवनमा फर्किएका छन् भने ३८ लाख सामान्य विकलांगताका (हेमीपेरेसिस) साथ बाँचिरहेका छन् । एक अनौपचारिक अध्ययनले जनाएअनुसार नेपालमा पनि हरेक वर्ष ५० हजार व्यक्तिलाई मस्तिष्क घात हुने गरेको पाइएको छ ।
जसमध्ये १५ हजारको मृत्यु हुन्छ । हृदयघातपछि मृत्युको दोस्रो मुख्य कारण मष्तिस्क घात बनेको तथ्यले देखाउँछ । अस्पतालहरुको सघन उपचारकक्ष (आईसीयू) पुर्याउँनु पर्नेहरु र विश्वब्यापी विकलांगताको प्रमूख कारण मध्येमा मष्तिस्क घात नै पर्ने पनि कतिपय अनुसन्धानहरुले देखाएका छन् ।
यस रोगले अप्रत्यासित रुपमा ज्यान पनि जाने र बाँचिहाले पनि अधिकांश विकलाङ्ग, परनिर्भर र पराश्रीत भएर वाँच्नुपर्ने हुन्छ । यसर्थ यो समस्यालाई बेलैमा चिन्न सके यसबाट हुने मृत्युलाई न्यूनीकरण गर्न र रोग लागेर अरूको साहारामा जीवन बाँचिरहेकाहरुलाई सामान्य जीवनमा यथोचित पुनर्स्थापना गर्न सजिलो हुन्छ ।
मष्तिस्क घात पश्चात बाँच्नेहरूमा देखिने विकलांगता घातले मष्तिस्कलाई पुर्याएको क्षति, घातको क्षेत्र र प्रकृतिको आधारमा निर्धारित हुन्छ । घात हुँदा नष्टभएका स्नायुतन्तुहरुले गर्ने कार्य सूचारु हुँन नसक्दा शरीरको एकापट्टी नचल्ने (पक्षाघात) र शरीर, मन र भावनासँग सम्वन्धित समस्यहरु देखा पर्दछन् ।
५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्या भएकाहरु तथा कहिले औषधि खाने कहिले छाड्नेहरु, अति व्यस्त जीवनशैली जीउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु, मुटु तथा रक्तसञ्चार सम्वन्धी समस्या भएकाहरु । जस्तै, एट्रियल–फ्रिविलेशन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, पूरानो माइग्रेन भएकाहरुमा मष्तिस्कघातको जोखिम उच्च हुन्छ ।
यसवाहेक रक्तस्राव सम्वन्धी समस्य जस्तै, घाउ हुँदा रगत बगेकोबगै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्भनिरोधक औषधि खाने महिलाहरु, परिवारमा मष्तिस्क घातको इतिहास भएकाहरु, हालसालै अथवा पूरानो मष्तिस्क संक्रमणले ग्रस्त रोगीहरुमा मष्तिस्कघात ज्यादा देखिएको छ ।
यसका अलावा श्रम र व्यायाम सम्मेलित नभएको निष्क्रिय जीवन जीउनेहरु, धुम्रपान र मद्यपान गर्नेहरु, मोटोपन, रेशा र चोकर नभएको मिठो खानेकुराको दीर्घकालिन सेवन, भिटामिन र एण्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन गर्नेहरु तथा अडान र निर्णयहरुप्रति अडिग रहने टाइप “ए” व्यक्तित्व भएका व्याक्तिहरु यो रोगको उच्च जोखिममा पर्दछन् ।खबरहब