अवसरको खातमा उभिएर सधैं अभाव !
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन गुरुयोजनाले सन् २०३५ सम्ममा नेपालले भारतलाई २४ हजार मेगावाट बिजुली बेच्न सक्ने देखाएको छ । त्यसको दशकभित्रै भारतमा विद्युत् निकासी गरेर वार्षिक १० खर्ब रुपैयाँ आम्दानी गर्न सक्ने एक अर्को अध्ययनको निष्कर्ष छ ।
भारत आफैं उर्जा उत्पादनमा लागत कटौतिका उपाहरूमा केन्द्रित भइराख्दा नेपालको बिजुलीले त्यहाँको बजारमा प्रतिस्पर्धा गर्न सक्ला ? यो प्रश्नको सापेक्ष समाधान नखोजी बिजुली बेचेर खर्बौ कमाउने योजना बुन्नुको अर्थ छैन ।
एउटा समय थियो, भारत नेपालको जलविद्युत्मा रुची राख्थ्यो । त्यो समयलाई सदुपयोग गर्न सकिएको भए जल विद्युत्बाट मनग्गे आम्दानी आर्जन भइसकेको हुने थियो । समयको त्यो सम्भाव्यता खेर गइसकेको छ । अहिले भारतको स्वार्थ नेपालको उर्जामा होइन, पानीमा छ भन्ने तथ्य घटनाक्रमहरूले प्रमाणित गर्दैछन् ।
भारत आफैं उर्जा उत्पादन र खपतमा विश्वको तेस्रो स्थानमा छ । उसले अहिलेसम्म उर्जाको दुईतिहाई परिमाण कोइलाबाट उत्पादन गरिराखेको छ । कोइला र जलविद्युत्लाई न्यूनीकरण गर्ने नीति लिएको भारत सौर्य उर्जामा केन्द्रित छ । सन् २०२२ सम्ममा १ लाख मेगावाटको लक्ष्य राखेको छ ।
भारतले सौर्य उर्जाको लागत प्रतियुनिट ४ रुपैयाँमा झारिसकेको छ । अबको दशकभित्रै यो ३ रुपैयाँमा सीमित हुने प्रक्षेपण छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालमा उर्जाको लागत प्रतियुनिट ८ देखि १० रुपैयाँसम्म छ ।
भारतले उच्च लागत र वातावरण प्रतिकूल उर्जा उत्पादनबाट हात झिक्दै गइराखेको अवस्थामा हामी भने तुलनात्मक महँगो विद्युत् बेच्ने सपनामा अल्झिएका छौं ।
उर्जा उत्पादनका अवयवलाई खर्चिलो बनाएर निकासीको योजनामा रमाउनु कमजोरी हाम्रो हो । गत वर्ष भारतमा बिजुली बेच्ने नेपाल विद्युत् प्राधिकरणको प्रयास यही समस्याका कारण असफल भएको थियो ।
कृषिलाई अहिले पनि अर्थतन्त्रको मूल आधार ठानिएको छ । कुल गार्हस्थ उत्पादनमा घट्दो योगदान दिएर पनि यो पेशा अर्थतन्त्रको प्रमुख स्थानमा छ । ६५ प्रतिशत कृषिमा आवद्ध छन् भनिन्छ, तर उर्वरभूमि बाँझो राखेर अर्बौको आयातित खाद्यान्नको भरमा नेपालीको भान्छा चलेको तथ्यले देखाउँछ ।
बिहानबेलुकाको छाक टार्नसमेत आयाति खाद्यान्न नभइ नहुने अवस्थाले कृषिलाई निर्वाहमुखी मान्ने आधार अन्त्य गरिदिएको छ । अर्थतन्त्र कृषिमुखी भनिन्छ । तर, यो कर्मलाई अहिलेसम्म पेशा ठानिएको छैन ।
कृषिबाट विस्थापित र शिक्षित बेरोजगार ७० लाख युवाले विदेशबाट पठाएको विप्रेषणबाट अर्थतन्त्र धानिएको छ । उत्पादनमा ह्रास र बढ्दो उपयोगले व्यापारघाटाको खाडल वर्षेनि फराकिलो हुँदैछ । कृषि मौसमको भरमा रहनुजस्तो विडम्वना के हुन सक्छ ? सिंचाईं, मलखाद, बीउबिजन, प्रविधिको सहज पहुँच छैन ।
पर्यटनको प्रयत्नमा पूर्वाधारको कमी छ । अहिलेसम्मको पर्यटन पदयात्रा र सीमित सम्पदाको मनलाग्दी दोहनबाट माथि उठ्न सकेको छैन । यो प्रवृत्तिले कतिपय स्रोतको मौलिकता मासिएको छ, कति सम्भावना उजागर नहुँदै खेर गइराखेको छ ।
उत्पादनको क्षेत्र पनि सकसमा जेलिएको छ । अर्थतन्त्रमा उत्पादनको योगदान साँघुरिएर साढे ५ प्रतिशतको हाराहारीमा छ । योजना छनौटमा आवश्यकताभन्दा आग्रहलाई अग्रभागमा राखिनु र तोकिएको समयसीमाभित्र पूरा नहुनु समय सान्दर्भिकता फुत्किने एउटा प्रमुख कारण हो ।
राष्ट्रिय गौरवको सूचीमा राखिएका करीब २ दर्जन आयोजनामध्ये अधिकांश ‘राष्ट्रिय लज्जा’ उदाहरण बनेका छन् । यस्ता अनेक योजना छन्, निर्माणमा विलम्वले पूर्णताअगावै सान्दर्भिकतामा स्वाभाविक प्रश्न उठिराखेको छ ।
हामी कहिले उत्पादन र आयात प्रतिस्थापनका कुरा गर्छौं, कहिले निर्यात प्रोत्साहनमा जोडबल लगाउँछौं । उर्जा उत्पादनको सम्भाव्यताको बखान नसक्दै पर्यटन प्रवद्र्धनको उद्देश्यलाई आर्थिक विकासका आधार भन्छौं ।
एउटा उद्देश्य परिपक्व नहँुदै अर्कोतिर दौडिन्छौं । यो पनि गर्न खोज्छौं, त्यो पनि समेट्न खोज्छौं । तर, क्षमता नपुगेर औसत अवसर फुत्काउँछौं ।
एउटै सम्भाव्यताको बलमा विकासमा नमूना काम गरेका देशहरूको सूची सानो छैन । मरुभूमिलाई आकर्षक र व्यापारिक सहरमात्र होइन, उर्वरभूमि बनाएर आर्जन गर्नेहरू पर्याप्तै छन् । तर, हामीले आर्थिक उपार्जनका सम्भावनै सम्भावनाको खातमाथि उभिएर अभाव र गरिबीलाई पहिचान बनाएका छौं, किन ?
दोहनका निम्ति त ढंग चाहिन्छ । उपयोगको उचित समय, पहिचान र रुपान्तरणको योजनाको खाँचो छ । अर्थतन्त्रका कुनै पनि आयामले उच्चतम आर्जन दिने एउटा खास समयसीमा र उत्कर्ष हुन्छ । यो समयलाई समात्न सकियो भनेमात्रै त्यसले समृद्धिको उद्देश्यलाई सघाउने छ ।