दृष्टि/संवादस्वास्थ्य/जिवनशैली

महामारी तथा वर्षायाममा स्वास्थ्य सचेतना

डा. प्रकाश बुढाथोकी

सत्ता, विपक्ष लगायतका सबै दलका नेतृत्वहरू, उच्च ओहदाका कर्मचारीहरूले हेलिकप्टरबाट बाढीपीडित प्रभावित क्षेत्रको भ्रमणसँगै वा पालैपालो गर्दैछन्। आश्वासन, भाषण, औषधि, खाद्यान्न, स्वास्थ्यकर्मी पठाइदिने भन्दैछन् तर अधिकांश क्षेत्रमा अहिले पनि बिचल्ली नै छ। सन् १८४० मा राजा राजेन्द्र वीरविक्रम शाहले काठमाडौंवासीलाई भनेका थिए, पानी पिउनुभन्दा अगाडि अनिवार्य रूपमा उमाल्नु र फेरि चिस्याउनु।

Patanjali Nepal
SweetMart Nepal

इनार र पानीका अन्य स्रोतलाई सफा राख्नु। खोला र जमिन तथा नहरको पानी नपिउनु। आज पनि नेपाल सरकारले बाढीपीडित नागरिकलाई त्यस्तै सुझाव दिइरहेका छन्। दुई शताब्दीपछि पनि उस्तै शिक्षा दिइनुले नेपालीको चेतनाको स्तर जहीको तही नै छ त भन्ने प्रश्न छ। स्थानीय बासिन्दा, पत्रकार, समाजसेवी भन्छन्, औषधि र डाक्टर होइन, हेलिकप्टर मात्र देखियो। हेलिकप्टरमा गरिने खर्च खाद्यान्न, औषधि, लुगाकपडा, उपचारमा गरियोस् भनी बासिन्दा फलाक्दैछन्।

नेपाल सरकारले दुई दशकअघि सार्वजनिक गरेको एक अनुमानमा सरसफाईको अभावले मानिस बिरामी भएर उपचारमा हुने खर्च र उत्पादनशीलतामा आउने ह्रासले बर्सेनी देशलाई दस अर्ब रुपैयाँ बढीको घाटा भइरहेको थियो भने हाल अझै कति बढी छ। अझ परिवारको सदस्य बिरामी हुँदा र अकालमा मर्दा आफन्तले भोग्नुपर्ने मानसिक तनावलाई कुनै मूल्यमा आँक्नै सकिँदैन। विश्व स्वास्थ्य संगठनको सरसफाइमा गरिएको एक रुपैयाँ लगानीबाट आठ रुपैयाँसम्म प्रतिफल पाइने तथ्यांक सार्वजनिक छ। विश्व स्वास्थ्य संगठनअनुसार फोहोर छोएपछि खानेकुरा पकाउँदा, खाँदा साबुनपानीले राम्ररी हात धोएमा झाडापखाला हुने दरलाई आधा गर्न सकिन्छ। प्रभावित क्षेत्रमा गरिबी छ, भौगोलिक विकटता छ, दुई छाक राम्रोसँग खान पाउँदैनन् जसले गर्दा कुपोषण छ।

शारीरिक शक्ति कमजोर भएर ससाना रोगले भेट्दा पनि रोगसँग लड्ने क्षमता नभएर जटिलता र मृत्यु हुने गर्दछ। महामारी स्वास्थ्यका कारण २५ प्रतिशत मात्रै हो, ७५ प्रतिशत घटनाको कारण भने शुद्ध खानेपानीको अभाव, सरसफाईको कमी, पोषणयुक्त तथा उचित खानपिनको अभाव तथा स्वास्थ्य सेवामा पहँुच नपुगी भएको छ। नेपाली भनाइ छ, नेपाली चाकडी गर्न जान्दछन् तर प्रशंसा गर्न जान्दैनन्। समाजसेवीहरूले गरेको मानवीय सहायतालाई पनि उनको जन्मस्थान तथा भविष्यको स्वार्थ भन्दै कुरा काट्ने, खुट्टा तान्ने कामले व्यापकता पाइरहेको छ।

वर्षायामसँगै डेंगु
प्राप्त तथ्यांकमा २०७७ साउन १ देखि २०७८ असार १६ सम्म ५७ वटा जिल्लामा ४७७ जना डेंगुका बिरामी फेला परेका छन्। म्याग्दीमा ८६ सबैभन्दा बढी र काठमाडौंमा कम ५ जना बिरामी भेटिएका थिए। जबकी महामारीको रूपमा फैलिँदा २०७६ मा १९ हजार संक्रमित, १२ हजार ३८९ बिरामी फेला र ६ जनाको मृत्यृ भएको थियो। डेंगु र कोभिडको मिल्दोजुल्दो लक्षणमा एक्कासी ज्वरो आउने, आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुची नलाग्ने, थकान महसुस हुने, टाउको, मांसपेसी तथा जोर्नी दुख्ने र वाकवाक लाग्नु वा बान्ता हुने गर्दछ।

लामखुट्टेजन्य रोग
अरू समयको तुलनामा गर्मी तथा वर्षामा तराईतिर बढी लामखुट्टे लाग्छन्। जसले गर्दा उच्च र तीव्र ज्वरो हुने डेगु, फिलेरिया, इन्सेफलाइटिस, मेनेन्जाइटिस हुने सम्भावना रहन्छ। त्यसैगरी सैण्डफलाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ। लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन। जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनु पर्छ।

झाडापखाला र हैजा
पटक–पटक पातलो दिसा (तीन पटकभन्दा बढी) हुनुलाई झाडापखाला भनिन्छ। यसले शरीरमा भएको पानी र लवणको मात्रालाई तुरुन्तै कम गर्ने भएकाले शरीरमा विभिन्न किसिमका जलविनियोजनसम्बन्धी स्वास्थ्य समस्याहरू देखा पर्छन्। वान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ। विश्व स्वास्थ्य संघका अनुसार करिब ७५ प्रतिशत हैजा संक्रमितलाई भने कुनै लक्षण देखिँदैन तर उनीहरूको दिसामा भने ७ देखि १४ दिनसम्म जीवाणु देखिन्छ। यसले नै अन्य स्वस्थ व्यक्तिमा वातावरणबाट सारिरहेको हुन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार झाडापखालाको ८८ प्रतिशत कारण असुरक्षित पानी, अपर्याप्त सरसफाई र स्वच्छताको कमी छ। सरसफाईमा सुधारले झाडापखालाले हुने मृत्यु ३२ प्रतिशतसम्म कम गर्न सकिन्छ। त्यसैगरी खानेपानीको गुणस्तरमा सुधारले २५ प्रतिशतसम्म मृत्युदर कम गर्न सकिन्छ। स्वच्छ पानी, सरसफाई, व्यक्तिगत स्वच्छता तथा हात धुनुजस्ता स्वास्थ्य शिक्षामार्फत झाडापखाला ४५ प्रतिशतसम्म कम गर्न सकिन्छ। खानेपानीलाई क्लोरीनेसन गरेर शुद्ध बनाउँदा डायरीया ३९ प्रतिशतसम्म कम गर्न सकिने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ। करिब ८० प्रतिशतमा उपचार जीवन जल अर्थात् नुन–चिनी–पानीद्वारा गरिन्छ। गम्भीर अवस्थामा भने यो झोेल नसाद्धारा दिइन्छ। हैजा भएकामा पनि ८० प्रतिशत रोगीलाई भने सामान्य झाडापखाला मात्र हुन्छ। बाँकी २० प्रतिशतमा भने शरीरमा पानी कम हुनुका साथै कडा पानी जाने झाडापखाला लाग्न सक्छ। उपचार नगरिए यस्ता बिरामीमध्ये आधाको मृत्यु हुन सक्छ। समयमै उपयुक्त र उचित उपचार भए हैजाको मृत्युदर एक प्रतिशतभन्दा कम हुन्छ।

रोकथाम  
मलमूत्रलाई पानीको मुहान नजिक वा जथाभावी नफाली खाल्डोभित्र पुर्नुपर्छ। खानेकुरालाई झिंगाबाट बचाउनुपर्छ। झिँगा लागेको, बासी, सडेगलेका, नपाकेका, चिसिएको खाद्य पदार्थ खानु हुँदैन। शौचालय गएपछि, खानाअघि तथा पछि साबुनपानीले हात पखाल्नुपर्छ। सलाद खानुपरे पोटासियम परम्याग्नेट मिसिएको पानीले सफा गरेर मात्र खानुपर्छ। सडकछेउ, होटल, रेष्टुरेन्टको खाद्य पदार्थ नखानुस्। खानेपानी कम्तिमा १० मिनेटसम्म उमाल्नुस् वा कलोरिन चक्कीले संक्रमणमुक्त बनाउनुस्। दाँत माझ्दा उमालेर चिसो भएको पानी प्रयोग गर्नुस्। रोगीलाई छुट्टै कोठामा राख्नुस् तर ओडारमा, घरमा थुनेर बाँकी सबैले घर छोड्ने काम नगरौं।

अन्तमा, गर्मी तथा वर्षायाममा लाग्ने विभिन्न रोगहरूबाट बच्न जुनसुकै उमेर, वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ। जसका लागि भोजनमा सर्तकता, सफा शुद्ध वा पोटासियम परम्याग्नेटले धोएको खाना, उमालेको किटाणुरहित पानीको प्रयोग गर्नुका साथै खानुअघि र पछि साबुनपानीले हात धुनुपर्छ। घर वरिपरीको वातावरण सफा राख्नुपर्छ। हाल कोरोना महामारीमा अपनाइएका जनस्वास्थ्यका मापदण्डले पनि धेरै संक्रामक तथा सरुवा रोगको रोकथाम गरेकाले त्यसलाई निरन्तरता दिँदै हरघडी सचेत बन्नुपर्छ। अन्नपूर्ण

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button