अर्थप्रदेश

बासमती धानको व्यवसायिक खेती

Thrill Factory
Rungta Group

झापा-बासमती चामललाई संरक्षण गर्ने ध्येयले राष्ट्रिय खाद्य बैंक कम्पनीले मुलुकका विभिन्न जिल्लामा बासमती धानको व्यवसायिक खेती शुरुआत गरेको छ ।

झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० बिघा जग्गा भाडामा लिएर कम्पनीले बासमती धानको बीउ रोप्न शुरुआत गरेको कम्पनीका अध्यक्ष शङ्करनाथ उप्रेतीले बताए। कम्पनीले झापाको गौरादह नगरपालिका वडा नं २ र ७ मा ५० बिगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती शुरु गरेको छ ।

शनिवार १०० जनाभन्दा बढी रोपाहार लगाएर परम्परागत रुपमै धुमधामका साथ रोपाइ गरेको थियो । स्थानीय १३ जना किसानको ५ बिघा जमीन प्रतिबिघा वार्षिक  ३५ हजार रुपैयाँका दरले भाडामा लिइएको उनले जानकारी दिए।

आगामी वर्षदेखि झापामै सयौ बिगाहामा बासमती धानको खेती विस्तार गर्ने योजना रहेको उनले बताए । कम्पनीको झापाका संयोजक धनञ्जय चुँडालका अनुसार गौरादहमा कालो नुनिया, हुलास बासमती, हाइव्रिड कालो नुनिया र रैथाने बासमतीको बीउ रोपिएको छ ।

स्थानीय डिल्लीप्रसाद सेढाईंले कम्पनीलाई चार बिघा जग्गा भाडामा दिएको जानकारी दिए । विगतमा आफुले उत्पादन गरेको धान समयमै बिक्री नहुने, बिचौलियाका कारण सस्तो मूल्यमा बेच्नुपर्ने, खेतीमा मजदुर नपाउने आदि कारणले हैरान भइरहेको अवस्थामा कम्पनीले जग्गा लिजमा लिंदा खुशी लागेको प्रतिक्रिया दिएका छन्।

यस वर्ष कम्पनीले परम्परागत रुपमै खेती गरेको कारण खेत जोत्न, बीऊ उखेल्न र रोपाइँ गर्न स्थानीयवासीले नै रोजगारी पाएका छन् । अर्को सालदेखि यान्त्रिकीकरण गरेर खेती गरिने कम्पनीले बताएको छ ।

कृषिको उत्पादन, भण्डारण र विक्री वितरण आफैंले गर्ने नीति अनुरुप देशैभर धानखेती गर्ने यो पहिलो कम्पनी हो । जिल्लामा कुल ८७ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती भइरहेको छ ।

तीमध्ये ६ देखि ७ प्रतिशत मात्र बासमती धानको खेती हुँदै आएको कृषिज्ञान केन्द्रका विज्ञ शालिकराम भट्टराईले जानकारी दिए। अन्य धानको तुलनामा यसको उत्पादन कम हुने र पाक्ने समय पनि बढी हुने हुँदा किसानहरुको यसप्रति खासै रुची नभएको उनको भनाइ छ ।  रोपेको १२० दिनमा मन्सुलीलगायतका धान पाक्ने भए पनि बासमती धान १५० दिनमा मात्र पाक्ने उनको भनाइ छ ।

थोरै भए पनि झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगी र दक्षिण क्षेत्रमा बासमति धानको खेती हुने गरेको छ । तर, राष्ट्रिय खाद्य बैंकले जिल्लामा गरिरहेको बासमति धानको खेती बारे कृषि ज्ञान केन्द्रमा कुनै पनि जानकारी नआएको बताए ।

२ अर्ब रुपैयाँको पूँजी रहेको खाद्यान्न बैंकका ७७ ओटै जिल्लामा कार्यालय रहेको र मुलुकका ७५३ ओटै स्थानीय तहमा कार्यक्षेत्र रहेको अध्यक्ष उप्रेतीे बताए। कृषि, माटो, बनस्पति, वातावरण, पर्यटन तथा जलस्रोत विज्ञहरु, कृषि प्राविधिक र कोरिया, जापान, चीनबाट कृषि तालिम लिएका अनुभव प्राप्त व्यक्तिहरुको संयुक्त लगानीमा यो बैंकको स्थापना गरिएको उनको दाबी छ । बैंकमा हालसम्म ५८७ जना प्रमोटर शेयर सदस्य रहेको र निकट भविष्यमै यसले १ हजार शेयर सदस्य पु¥याउने लक्ष्य लिएको छ ।

झापा, मोरङ र सुनसरीका लागि नमूना परियोजनाका रुपमा गौरादहमा यसले धान खेती गरेको बताएको छ । अन्य प्रजातिको धानको तुलनामा बासमती धानमा पोषक तत्वको मात्रा बढी हुने हुँदा यसको खेती गरिएको उनले बताए ।

उनका अनुसार फुड एण्ड न्यूट्रिसनको बारेमा जानकारी दिलाउने, पोषणयुक्त खानेकुरा उत्पादन गर्ने र अग्र्यानिक कृषि उपजहरु उत्पादनमा लगाउने बैंकको मुख्य लक्ष्य रहेको छ । लाखौंलाई रोजगार दिने र परनिर्भरतालाई घटाएर मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बनाउने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button