No Image Headlineदृष्टि/संवाद

कोरोना कहरबाट मुक्ति कसरी ?

केही दिनयताका समाचारमाध्यमहरूलाई हेर्दा कोरोना महामारीको दोस्रो लहर क्रमशः मत्थर हुँदै गएको भान हुन्छ। महामारी मत्थर हुँदै जाँदा प्रतिकार्यका पूर्वतयारीहरूले भने विश्राम लिनुहुँदैन। हामीले महामारीको अघिल्लो लहरबाट थुप्रै पाठ सिकेका थियौं। मानवीय क्षतिका हिसाबले खासै असर नदेखाएको त्यो लहरले देखाएका पाठहरूलाई बेवास्ता गर्दा दोस्रो लहरले निकै घातक परिणाम दियो।

Patanjali Nepal
SweetMart Nepal

सत्तामा बसेकाहरूलाई त सत्ता खेलबाहेक जनताको जीवनबारेमा खासै मतलब नहोला। सरकारका निकायहरू अहिले पनि दैनिक करीब ५० जना मानिसको मृत्यु र दुई हजारभन्दा बढी सङ्क्रमितको सङ्ख्या गनेर बसिराखेका छन्। ‘कोरोनाले यति असर गर्ला भन्ने नसोच्दा क्षति नियन्त्रणबाहिर’ गएको प्रधानमन्त्रीको अभिव्यक्तिको स्मरण मात्र पनि महामारीसित लड्न पूर्वतयारीको अवस्था आकलनका निम्ति पर्याप्त हुन सक्दछ।

विश्वका कैयौं देश अहिले पनि दोस्रो लहरले आक्रान्त छन्। तेस्रो लहरका कुराहरू आइराखेका छन्। तेस्रो लहर कति बेला फैलिने हो भन्ने त्रास कायम छ। यसबीचमा केही देशले भने कोरोना नियन्त्रणमा सफलता प्राप्त गरिरहेका छन्। कति देश यस्ता पनि छन्, जसले आफ्नो देशलाई मास्क फ्री घोषणा गरेका छन्। उनीहरूले आफ्नो देशमा कसरी कोरोनालाई नियन्त्रणमा लिएर मास्क फ्री दिनचर्या सम्भव तुल्याए, हामीजस्ता सीमित स्रोत साधन र असीमित बेथितिका बीचमा कोरोनासँग सङ्घर्ष गरिरहेका देशका लागि यो सन्दर्भ उपाय हुन सक्दछ।

तथ्य के पनि हो भने ती देशले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी उपाय अपनाएकै कारण मास्क नलगाए पनि दैनिकी चल्न सक्दछ भन्ने विश्वास जागेको हो। हामीले ती देश जसरी मास्क नलगाउने घोषणा नगरे पनि कोरोनालाई परास्त गर्न के कस्तो उपाय अपनाए भन्ने अनुसरण गर्न नसक्ने कारण छैन।

भुटान हाम्रो सबैभन्दा निकट देश हो, जसले कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय काम गरेको छ। भारत र चीनसँग सिमाना जोडिएको भुटान दक्षिण एशियाकै सबैभन्दा कम सङ्क्रमित भएको देश हो। अहिलेसम्म भुटानमा एक हजार सात सयजना मात्रै सङ्क्रमित भएको सञ्चारमाध्यमले बताएका छन्। तीमध्ये एक हजार चार सयभन्दा बढी मानिस निको भइसकेका छन्।

भुटानमा अहिलेसम्म एकजनाको मात्रै कोरोना सङ्क्रमणबाट ज्यान गएको छ। भुटानले कोरोना नियन्त्रण गर्नुको मूल कारण त्यहाँको सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउनु हो। भुटान सरकारले अहिलेसम्म ९० प्रतिशत जनतालाई कोरोनाविरुद्धको दुवै मात्रा खोप दिइसकेको छ। त्यहाँ दुई हप्तामैं खोप अभियान सकिएको थियो। अधिकांश नागरिकले खोपको दुवै मात्रा लगाएकाले त्यहाँ मास्क लगाउनुपर्ने बाध्यता छैन।

भुटान मास्क फ्री घोषणा गर्ने पहिलो देश पनि हो। स्मरण हुन्छ, भुटान गएका एक विदेशी नागरिकमा पहिलोपटक कोरोना पुष्टि भएको थियो। कोरोना देखिएलगत्तै त्यहाँका प्रधानमन्त्री नै कन्ट्याक्ट ट्रेसिड्ढा लागि अस्पताल–अस्पताल चहारेका थिए। त्यहाँको सरकार जनताको स्वास्थ्यप्रति कति संवेदनशील छ भन्ने यसले देखाउँछ। हामीकहाँका प्रधानमन्त्री भने त्यसै समय कोरोना केही होइन भन्दै संसद्मा उभिएर बेसार पानीको प्रवचन दिइराखेका भेटिन्थे। हामीले कोरोना महामारीबाट निकास नपाउनुको मूल कडी नै यही हो।

कोरोना भाइरस उत्पत्ति भएको उत्तर छिमेकी चीनले नियन्त्रणमा उदाहरणीय काम ग–यो। त्यहाँ अहिलेसम्म सङ्क्रमित मानिसको सङ्ख्या ९१ हजार छ। तीमध्ये ८६ हजार निको भइसकेका छन्। कोरोनाबारे अन्योल र आलोचनाका बीच सुरुआतमा नियन्त्रणमा निकै सकस खेपेको चीनले अहिले आफ्ना एक अर्बभन्दा बढी नागरिकलाई खोप दिइसकेको छ। बाहिरबाट आउनेलाई खोपको दुवै मात्रा लिएको प्रमाण अनिवार्य गरेको चीनले कोरोनामाथि नियन्त्रण पाएर आफ्नो देशलाई मास्क फ्री गरेको छ। कोरोनाको दोस्रो लहरमा ठूलो क्षति बेहोरेको दक्षिण छिमेकी भारतले खोप अभियानलाई तीव्र पारेको छ। सन् २०२१ को अन्त्यसम्ममा सबै नागरिकलाई खोप निश्चित गर्ने योजनामा अघि बढेको छ।

कोरोनाको पहिलो लहरमाथि नियन्त्रण कायम गर्ने न्युजिल्यान्ड पहिलो देश थियो। दोस्रो लहरमा सकस भोगेको न्युजिल्यान्डका केही शहरमा अहिले विनामास्क हिंड्डुल गर्न पाइन्छ। अमेरिका पनि मास्क फ्री देश हो। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको शैलीले पहिलो लहरमा निकै ठूलो मूल्य चुकाएको अमेरिका अहिले सम्हालिइसकेको छ। राष्ट्रपति जो बाइडेनले खोप अभियानलाई तीव्रता दिएका छन्। खोप अभियानको आक्रामक विस्तार नै त्यहाँ दोस्रो लहर नियन्त्रणबाहिर नजानुको कारण मानिएको छ। त्यहाँका कतिपय शहरमा अहिले मास्क अनिवार्य छैन।

कोरोनाको पहिलो लहरमा यसलाई हल्कारूपमा लिएर गम्भीर क्षति भोगेको इटालीले पनि दोस्रो लहरलाई सहजै नियन्त्रणमा लियो। इटालीले अनिवार्य खोप नीति अघि सारेर कोरोना नियन्त्रणमा लिएको हो। इटालीका २० राज्यमा अहिले मास्क नचाहिने भइसकेको छ। पहिलो लहरमा गरेका गलती सच्याएर रोकथाम अभियान चलाएकाले यो सम्भव भएको हो।

प्यालेस्टाइन र इजरायलबीचको आन्तरिक युद्ध चलिराख्दा पनि इजरायलले कोरोना नियन्त्रणमा प्रभावकारी अभियान चलाएको सञ्चारमाध्यमहरूले बताएका छन्। त्यहाँ १२ देखि १५ वर्ष उमेर समूहलाई पनि खोप लगाइसकिएको छ। १५ जूनदेखि इजरायलमा मास्क फ्री गरिएको थियो। तर सङ्क्रमण बढेपछि पुनः अनिवार्य गरिएको छ। जर्मनी तथा अस्टे«लियाले अनिवार्य मास्क लागू गरेका छन्। यो सावधानीको पाटो हो।

हाम्रो मूल चासो मास्क फ्री गर्नु वा अनिवार्य गर्नुभन्दा पनि ती देशले कोरोना महामारीको सामनामा कस्ता उपाय अपनाएर मास्क नलगाए पनि हुने मनस्थितिमा पुगे भन्ने चाहिं मननीय विषय हो। कोरोनाको पहिलो लहरमा नसोचेको क्षति भोगेका देशले रणनीतिकरूपमैं तयारी गरेर दोस्रो लहरबाट कमभन्दा कम क्षतिबाट निकास पाए। कोरोनाको उद्गम चीन र चीनसँग सिमाना जोडिएको भुटानमा दोस्रो लहरको असर नै सुनिएन/पढिएन।

दोस्रो लहरमा अनपेक्षित सकस भोगेको भारतमा अहिले महामारी नियन्त्रणको क्रममा छ। उसले खोप कार्यक्रमलाई तीव्र गतिमा अघि बढाएको देखिन्छ। दैनिक लाखौं जनतालाई खोप दिइराखेको छ। हामी भने प्रत्येक महामारीका सकसलाई बिर्सिंदै उदासीन बनिराखेका छौं। खोपको पुगनपुग चार करोड मात्रा भिœयाउन सरकारलाई महाभारत परिराखेको छ।

जनताले किनेर लगाउँछु भन्दा पनि खोप पाइराखेको छैन। अहिलेसम्म जम्माजम्मी ४१ लाख मात्रा खोप भित्रिएको सरकारी तथ्याङ्क छ। त्यसमा पहुँचवालाहरूको मनोमानीका बेथिति अर्को विडम्बना बनेको छ। साढे १३ लाख ज्येष्ठ नागरिक खोपको दोस्रो मात्राको पर्खाइमा छन्, कहिले पाउने टुङ्गो छैन। पहिला एकथरी खोपको पहिलो मात्रा लगाएका उनीहरू अर्को मात्रा कहिले र के लगाउने भन्ने अन्योलमा छन्। सङ्क्रमणको दृष्टिले उच्च जोखिममा रहेको यो उमेर समूहका नागरिकप्रति सरकार हदैसम्म गैरजिम्मेवार देखिएको छ। सरकारले कोरोनाविरुद्धको खोपको उपलब्धतालाई प्राथमिक कार्यभारमा राखेर त्यस अनुसारको पहल प्रयासलाई अघि नबढाउने हो भने हामी सम्भावित तेस्रो लहरमा पनि नसोचेको क्षति भोग्न अभिशप्त हुनेछौं। प्रतीक दैनिकबाट

सम्बन्धित समाचार :

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button