अर्थखबर फटाफटमुख्य खबर

माथिल्लो तामाकोशीबाट आजदेखि विद्युत् उत्पादन, प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं-राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आजदेखि परीक्षण विद्युत् उत्पादन हुँदैछ ।

पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०६७ साउनमा शुरु गरिएको उक्त आयोजनाबाट ११ वर्षपछि बल्ल विद्युत् उत्पादन शुरु हुन लागेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार अपराह्न ४ बजे भर्चुअल माध्यमबाट  आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

आजदेखि आयोजनाबाट उत्पादित ७६ मेगावाट विद्युत् पहाडी क्षेत्रमा उत्पादन भए पनि धनुषाको ढल्केबर हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुन लागेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ ।

भदौ महीनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताए ।

आइतवार नै खिम्ति सबस्टेशनदेखि गोंगरसम्मको  ४७ दशमलव २ किलोमिटर लामो विद्युत् प्रसारण लाईन चार्जिङ गर्ने काम सम्पन्न भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।

२०६७ सालमा मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको आयोजनाको  विसं २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए । त्यसको करिव ११ बर्षपछि तामाकोशीको पहिलो युनिटवाट विद्युत् उत्पादन हुन लागेको छ ।

आयोजनाका अन्य अरु पाँच ओटा युनिटबाट विद्युत् उत्पादन गर्नकालागि आवश्यक परीक्षणहरु भइरहेको आयोजनाले बताएको छ । छ ओटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा आयोजनाबाट ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

सुक्खा यामका लागि रोलवालिङ डाइभर्सनबाट पानी ल्याउन आवश्यक रहेकोले डाइभर्सन बनाउनको लागि आवश्यक टेन्डर प्रक्रिया चलिरहेको आयोजनाको भनाइ छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button