दृष्टि/संवादमुख्य खबर

वर्षेनि डुवानमा वीरगञ्ज : निकास कसरी ?

श्याम शर्मा

Thrill Factory
Rungta Group

वीरगञ्जमा एसियाली विकास बैङ्क (एडीबी)को अर्बौ ऋण लगानीमा ढल तथा नाला निर्माण परियोजना लागू भए पनि समस्याले निकास पाएन । विगत ४ वर्षदेखि प्रत्येक बर्खामा मुख्य बजार क्षेत्र सामान्य वर्षातमै डुबनमा पर्ने गरेको छ । यो सहरले वर्षौदेखि भोग्दै आएको डुवानको समस्या समाधान हुने अपेक्षा अस्वाभाविक थिएन ।

परियोजना पूरा भएकै वर्षदेखि मुख्य बजार डुवानमा पर्दै आएका छन् । मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना (एसटीआइयुइआइपी)सँग सरोकार राख्ने वीरगञ्ज महानगरका प्राविधिक प्रमुखहरू वर्षात्को बेला सहरमा डुवानको समस्यालाई सामान्य बताएर सामान्यीकरणको प्रयत्नमा उद्यत् देखिन्छन् । यतिसम्म कि उनीहरू यो सार्वजनिक सञ्चारमाध्यममा समाचारको विषय नै होइन पनि भन्न पछि पर्दैनन् ।

वीरगञ्जको मुख्य बजार क्षेत्र आदर्शनगर यो समस्याबाट बढी ग्रस्त छ । योजना निर्माण भइराख्दा नै स्थानीय बासिन्दा र जानकारहरुले आयोजनाको डिजाइन नै गलत भएकाले यो समस्या निम्तिनेबारेमा महानगर नेतृत्वलाई सचेत गराएका थिए । महानगरले ती जायज आग्रहलाई बेवास्ता गर्नुको परिणाम अहिले बासिन्दाले भोगिराखेका छन् । योजनाको नेतृत्वकर्ताहरुको गैरजिम्मेवारीको सकस जनताले उठाउनु परेको छ ।

वीरगञ्जको आदर्शनगरमा ढलको बहावलाई डिजाइन परिवर्तन गरी दक्षिणबाट उत्तरतिर बगाइएको छ । यो प्राविधिकरुपमा असम्भव कुुरा होइन । तर, यसको सतह मिलाउँदा समग्र ढलको बहाव सतह सामान्यभन्दा तल गएको छ ।

केही बेरको वर्षातमै सिर्सिया नदीको सतह ढलको सतहभन्दा माथि उठेर सहरतिर हिले पानी पस्नुको कडी यही हो । ढलको सतहभन्दा नदीको सतह माथि आएपछि नगरक्षेत्रको पानी सिर्सियामा खस्न पाउँदैन । यसले प्रत्येक बर्खामा शहरलाई डुबाउने गरेको छ ।

वीरगञ्ज महानगरका प्राविधिक जनशक्तिमा एकखालको दम्भ खतरानक ढङ्गले विस्तार भइराखेको छ– नगरमा आफूबाहेक अरू सबै अज्ञानी छन् भन्ठान्ने । उनीहरूको दम्भले यो कुरा स्वीकार गर्न सक्दैन कि वीरगञ्ज सहरमा विषयगत जानकारहरू अरू पनि हुन सक्छन् । सामान्य माथिङ्गलले भन्न सक्छ कि पानीको वहाव उत्तरबाट दक्षिणतर्फ सहजरुपमा प्रवाह हुन सक्छ । यति सामान्य कुराको भेउ पाउन प्राविधिक वा विज्ञको पगरी भिरिराख्नु पर्दैन ।

३ अर्ब रुपैयाँको लागतमा योजना तयार भए पनि सामान्य बर्षात्मै डुवानको कहर खेप्नुपर्ने अवस्था समाचारको विषयमात्र होइन, छानविनको सरोकार बन्नु पर्दछ । वीरगञ्जको आदर्शनगरमा त पानी नै नपरेको अवस्थामा समेत सिर्सिया नदीको घमिलो पानी ढलको बाटो भएर सहरमा पस्ने गरेको छ । बरू, त्युअघि नदीको पानी ढल भएर सहरसम्म आइपुगेको थिएन । यो पानीको बहावलाई उल्टो दिशातिर बगाउने ‘विज्ञ’हरूको प्रयासको प्रतिफल हो ।

कुनै पनि योजनाको उद्देश्य लक्षित समुदायलाई लाभ पु¥याउनु हो । यदि, त्यस्तो योजनाको कार्यान्वयनले समस्याको निकास सम्भव हुँदैन र लक्षित समुदायले निरन्तर सास्ती भोगिराख्छन् भने त्यो उठानयोग्य विषय हो ।

हो, वीरगञ्ज सहरमा व्यवस्थित ढल निकासका लागि यो योजनामात्र पक्कै पर्याप्त थिएन । सुरू योजनामा ९ अर्ब रुपैयाँ अनुमान गरिएकोमा अहिले आएर महानगरको क्षेत्र विस्तार भइसकेको छ । स्वाभाविकरुपमा खर्चको आकार पनि बढ्ने छ ।

पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा साढे २ अर्ब रुपैयाँको बेग्लै योजनाको काम जारी छ । तर, ३ अर्ब रुपैयाँ खर्चिएर ढल र नाला बनाइएका मुख्य बजार आदर्शनगर, घरिअर्वा, मूर्ली, छपकैया, रानीघाट, माइस्थानलगायतका क्षेत्र डुवानमा परेपछि अर्बौंको लगानीको औचित्यमा प्रश्न उठ्नु पनि स्वाभाविकै हो ।

एसटीआइयुइआइपी निर्माणाधीन रहेकै बेला अघिल्लो बर्खामा ढल हुँदै सिर्सिया नदीको पानी पसेर सहर डुबेको थियो । त्यसबेला परियोजनासम्बद्ध महानगरका प्राविधिकले अनपेक्षित बाढीका कारण ढलको बहावभन्दा नदीको सतह माथि आएकाले सहरमा पानी पसेको तर्क गरेका थिए ।

पटकपटक सामान्य वर्षातमै पानी पसेपछि उनीहरू अन्य सहरमा पनि डुवान भएको तर्क पेश गर्न थालेका छन् । भारतको मुम्बई, दिल्लीदेखि हाम्रै विराटनगर, नेपालगञ्जसम्मका सहर डुबेको फेहरिस्त उनीहरूसित तम्तयारी अवस्थामा छ ।

अन्यत्र समस्या भयो भनेर वीरगञ्जका बासिन्दाले पनि वर्षेनी डुवानमै बस्नुपर्ने मनोविज्ञान पालेर हामीले कस्तो विकासको खाका कोरिराखेका छौं ? समस्यालाई सामान्यीकरण गरेर विकास निर्माणको औचित्य कसरी प्रमाणित हुन सक्ला ? विकासका नाममा वर्षेनी अर्बौ रुपैयाँ बगाउने, तर सहरका बासिन्दाले सधैंको सास्ती नै खेपिराख्ने ? योजना निर्माण र त्यसको कार्यान्वयनको तहमा यस्तो खोटपूर्ण सोचको अवशान नभएसम्म कुनै पनि विकास संरचनाको सार्थकता प्रमाणित हुन सम्भव छैन ।

योजनाको सुरु डिजाइनमा वर्षातको पानी बग्न सडक दयाँबाँया इट्टाको नाला र ढलका लागि ह्युमपाइपको डिजाइन थियो । भौगर्भिक अवस्था र भौतिक संरचनालाई कारण देखाएर सडकको बीचमा आरसीसी नाला बनाइयो ।

स्वाभाविक हो, ३ ओटा संरचनाबाट बग्ने पानी एउटा ढलबाटमात्र बग्दा डुवानको समस्या बढी हुने नै भयो । योजनाका परामर्शदाताहरू २ वर्षभित्रको अधिक वर्षालाई आधार मानेर डिजाइन गरिएकाले त्यो अनुमानभन्दा बढी पानी परेपछि डुवान हुने तर्क गर्छन् ।

यो अन्तर्राष्टिय अभ्यास भएको दाबी उनीहरूको छ । यदि यसो हो भने यति सामान्य वर्षात्मै सहर डुब्ने डिजाइन नै गलत छ । हाम्रो भूगोलमा सापेक्ष नहुने यस्ता त्रुटीपूर्ण मान्यतामा पुनर्विचार गरिनु पर्दछ । जथाभावी डिजाइनलाई बोकेर हिड्नु पर्छ भन्ने छैन ।
दाताले दिए भन्दैमा जस्तो र जे पनि हात थाप्ने परिपाटीको अन्त्य हुनु पर्दछ ।

एउटा भनाइ छ– सस्तो बेसाहाले पखाला लाग्छ । हाम्रो आवश्यकता के हो र कस्ता योजनाले अपेक्षित लाभ दिन सक्छन् भन्ने कुराको निक्र्यौल गरेरमात्र कार्यान्वयनमा लैजानु पर्दछ । नगरबासीलाई ऋण र सास्ती दुवै बोकाउनु अपराध होइन ?

अब समस्याको निकास कसरी गर्ने ? वीरगञ्जको अलखियास्थित कालीमन्दिरनजिकै ढल थुनेर उत्तरतिर फर्काइएको छ । वीरगञ्जको श्रीपुर क्षेत्रदेखिको पानी कालीमन्दिरछेउको ढलमा पु¥याउने योजना थियो । त्यसअघिको मुख्य ढलको मार्गमा केही निजी संरचना भएकाले डिजाइन फेर्नु परेको थियो ।

कालीमन्दिरछेउ लगिएको ढललाई त्यहाँबाट दक्षिणतिरै बगाउनुको सट्टा उत्तर फर्काएर समस्यालाई निम्त्याइएको हो । आदर्शनगर क्षेत्रको पानी दक्षिणबाट उत्तरतिर बगाउँदै ठाकुरराम क्याम्पस उत्तरतर्फको सडकबाट सिर्सियामा पु¥याइएको छ ।

दक्षिणबाट उत्तरतिर ढल बगाउँदा ढलको सतह स्वाभाविक रुपमा सामान्यभन्दा तल जान्छ । सिर्सियामा खसालिएको ढलको सतह निकै तल हुनुका कारण नदीमा पानीको बहाव सामान्य बढ्नेवित्तिकै सहरको पानी नदीतिर जान त सक्दैन नै, नदीको पानी उल्टै सहरतिर छिर्छ ।

कालीमन्दिरतिर थुनिएको ढललाई खोलेर दक्षिणतिर तिरै बगाउनु यसको सहज समाधान हो । यसो गर्दा ढलको बहाव दक्षिणतिर जानेछ, र आदर्शनगरको सकस समाधान केही हदसम्म भए पनि सहज हुन सक्दछ । महानगरले निर्माणाधीन र भविष्यका योजनाको कार्यान्वयनमा यो समस्यालाई एउटा पाठको रुपमा ग्रहण गर्नु पनि उत्तिकै सान्दर्भिक हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button