
सहर नजिकैको बस्ती, झुप्रा टहराहरू, आकाश चिहाउँदै हिउँद वर्षा रोएरै बिताउने प्लास्टिकका छाना, झिंगटी वा बोराका बारहरूबाट हरेक आगन्तुकहरूलाई हेर्दै याचना गर्दै घुटुक्क थुक निलेर प्यास मेटाउन अभ्यस्त नाङ्गा आङ् भित्र लुकेका सुकेका सारंगी पेटहरू र तिनको खाली आन्द्रामा एकमुठी खोले घोलेर प्राण धान्ने सपनाहरूबाट उनीहरूलाई व्युँझाउँदै एक्कासी बलौटे गल्लीमा आफ्नो पछि लगाउँदै कुदेको सेतो पिकअप भ्यान वस्तीको बिचमा आएर रोकिन्छl गल्लीको धुलो नमरुन्जेल भ्यानको ढोका खुल्दैनl
त्यसबेलासम्म केहि आशा र केहि निराशा बोकेका कोरोना कहरले सहरका ढोका बन्द हुँदा भोको पेट र खाली मुठी बाहेक आफ्नो भन्ने केहि नभएका अनागरिकहरू गाडीको वरिपरी झुम्मिन्छन्l बिस्तारै दुबैतर्फका ढोका खुल्छन् र भित्रबाट दुईजना युवाहरु बाहिर निस्केर सबैलाई नमस्कार गर्छन्l पातलो अग्लो केटा, फुर्तिलो जिउ मास्क भित्रै मुस्काउँछन्l बी एफ् सी को क्याप्टेन बि एफ् सी को क्याप्टेन, मान्छेहरु कानेखुशी गर्छन्l
त्यतिबेला सम्म बस्तीका सारंगी पेटहरू नांगै भुतुंगै भिडमा मिस्सिन आइपुग्छन्l ध्रुब दाइ, ध्रुब दाइ, तपाईं फुटबलर है; हामीले तपाईंको गेम हेरेको छौंl सरंगीहरु आगन्तुकको प्रसंशामा मधुर धुन निकाल्न थाल्छन्l प्रौढहरू भोक र रोगलाई एक पटक भनेपनि चड्काउन पाइन्छ कि भनेर केहि नबोली उभिरहन्छन्l
एकजना वृद्दले आशाका तारहरु जोरजाम गर्दै शव्द संयोजन गर्छन्l बाबु, बजार बन्द भएपछि हाम्रा चुल्हा निभेका छन्l हामीलाई भोलिको घाम देखाउन बाबुले केहि ल्याउनुभएको छ? आफ्नो साथीको काँधमा चपक्क समाउँदै सबैलाई हेरेर उनले भने, “हामी पनि हजुरहरू जस्तै दु:खी छौं; हामी हजुरहरूलाई त्यस्तो ठुलो खुशी केहि दिन सक्दैनौंl
नढाँटिकन भन्नुपर्दा हामीहरू हजुरहरूबाट अलिकति खोस्न आएका हौँl” सबैका अनुहार एक्कासी मलिन हुनपुगेl “हामीसँग खोस्ने के छ त्यस्तो?” अर्का खाली आंग बोलेl
आफ्नो मोटरको पछाडिको ढाला खोल्दै क्याप्टेनले भने, “तपाईंहरूको पिडा, हामी अलिकति भएपनि तपाईंहरूको भोक खोस्न आएका हौँl

