प्रदेश

रासायनिक मलको अभाव झेल्दै किसान

Thrill Factory
Rungta Group

सल्यान-सल्यानमा रासायनिक मलको अभाव भएको छ । जिल्लाभर धमाधम बर्खेवाली लगाउन शुरु भएको बेला रासायनिक मलको अभाव भएको हो ।

धान र मकैमा मल हाल्ने बेला हुँदा समेत रासायनिक मल नपाउँदा समस्या भएको किसानहरुको भनाइ छ । किसानले माग अनुसार मल पाउन सकेका छैनन् ।

धान रोप्ने सिजनमा नै मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउपालिका ६ का किसान हेर्मलाल बोहराले बताए । ‘किसानहरुको माग धेरै आएको छ, गरिज्युला कृषि सरकारीले मात्रै यसपटक करीब २०० बोरा मल खपत गर्नसक्छ, तर यहाँ मल छैन’ उनले भने ‘एक बोरा मल ४/५ जना किसानले बाँडेर लिनुपर्ने बाध्यता रहेको छ ।’

शारदा नगरपालिका ४ साहुटोलमा रहेको सुनखानी कृषि सहकारीका व्यवस्थापक यगेन्द्र बहादुर बस्नेतले मल नपाउँदा किसानहरु निरास भएर फर्किनुपर्ने बाध्यता रहेको बताए । ‘अहिले युरिया मलको अत्याधिक माग आएको छ, तर हामीले आपूर्ती गर्न सकेका छैनौँ,  धान र मकैलाई अहिले नै मलको आवश्यक छ’ उनले भने ‘सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न सकेको छैन ।’

पछिल्लो समय जिल्लाका किसानहरुले रासायनिक मलको अभाव झेल्दै आएका छन् । विगतमा प्रांगारिक स्याउले तथा गोठेमल प्रयोग गर्दै आएका किसानहरुको आकर्षण रासायनिक मलमा बढ्न थालेको छ । रासायनिक मलको प्रयोग गरेको खेतबारीमा मल प्रयोग नगर्दा उत्पादन नुहने भएकाले पनि किसानलाई मल खरीद गर्न चुनौती बनेको छ ।

जिल्लाभर बर्खेसिजनमा मात्रै करीब ४० हजार बोरा मलको आवश्यकता पर्दछ । तर जिल्लामा मलको कम आपूर्ती हुँदा समस्या भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड सल्यान शाखाले जानकारी दिएको छ । चालू आर्थिक वर्षको लागि सल्यानमा ६९ हजार ४०० बोरा मलको कोटा हो । तर यो बिचमा आधाभन्दा पनि कम मात्रै मल आपूर्ती भएको छ ।

कर्पोरेसनका जिल्ला शाखा प्रमुख प्रविनजंग शाहले यसवर्ष जिल्लामा १९ हजार ७३० बोरा युरिया र ८ हजार बोरा डिएपि मल आयात भएको बताए । माथिल्लो निकायमा जिल्लाको लागि आवश्यकताका आधारमा मल नपठाउँदा समस्या भएको उनको भनाइ छ । कर्पोरेसनमा ५० बोरा युरिया, १३० बोरा पोटास र ४९० बोरा डिएपि मौज्दाज रहेको छ ।

‘दैनिक किसान युरिया मलका लागि आउनुहुन्छ, हामीसँग मल छैन, आथिल्लो निकायमा खबर गर्दा पठाउँछौ मात्र भन्छन्, सिजनमा नै किसानले मल नपाउँदा समस्या भएको छ, हामीले दैनिक जसो मलका लागि आउने किसानलाई खाली हात फर्काउदै आएका छौँ’ उनले भने ।

जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ भने १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । मल पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा खेती कसरी गर्ने भन्ने चिन्ता किसानहरुमा देखिएको छ । मल अभावकै कारण उत्पादनमा पनि कमी आउने किसानहरुको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button