प्रदेश

कौसी खेतीमा रमाउँदै गृहिणी

Thrill Factory
Rungta Group

भरतपुर-भरतपुर महानगरपालिका–११ दीपज्योति टोल सुधार संस्था छिरेपछि यतिबेला सबैको घरमाथि तरकारी खेती देख्न सकिन्छ । तरकारी लगाउने जग्गा नभएपछि स्थानीय महिलाहरुले कौसीमा तरकारी खेती गर्दै आएका छन् ।

बाहिरबाट हेर्दा  पनि लोभलाग्दो देखिने गरी दीपज्योति आमा समूहका महिलाहरुले तरकारी खेती गर्दै आएका छन् । स्थानीयवासी सुनिता कार्की आफ्नो फुर्सदको समयमा कौसीमै बिताउँदै आएको बताउँछिन् । उनले भनिन्, ‘घरको काम धन्दा सकिएपछि दिन कटाउने बाटो भएको छ । तरकारी किनेर खान पनि परेको छैन ।’ कौसीमा तरकारी लगाएदेखि दैनिकी कटाउन र घरका लागि आवश्यक तरकारी पर्याप्त मात्रामा पुग्ने गरेको उनले बताइन् ।

विगत एक वर्षदेखि कौसीमा तरकारी लगाउँदै आएकी कार्की अहिले तरकारी किन्न जाने समय र तरकारी किन्ने पैसाको समेत बचत भएको बताउँछिन् । तरकारी किन्ने पैसा अन्य क्षेत्रमा लगानी गरेको उनले जानकारी दिइन् ।

सोही टोलकी विष्णु आचार्यको फुर्सदको समय तरकारी गोड्ने, पानी हाल्ने र मल राख्नेमै बित्छ । उनले घरको छतमा तरकारी लगाउनुभएको छ । उनको कौसीमा बोडी, काँक्रो, साग, घिरौँला, कागतीलगायतका तरकारी रहेका छन् ।

उनको बिहान बेलुका घरको कामबाहेक अन्य समयमा कौसीमा काम गरेर बित्छ । घरमै उत्पादन भएको प्राङ्गारिक तरकारी खान पाइने र समयको बचत हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘तरकारी किन्न जाँदा अन्य सामान पनि किनिने गरेको भए पनि अहिले बजारको तरकारी किन्नु परेको छैन ।’

अर्चना देवकोटा मरहठ्ठाको बिहान बेलुकाको समयले मात्रै आफूलाई पुग्ने तरकारी उत्पादन हुँदै आएको छ । शुरुआतमा केही समस्या हुन्छ कि भन्ने लागेको भए पनि अहिले तरकारी खेती व्यवस्थित गर्न सके आफूलाई आवश्यक पर्ने मात्र नभई थोरै थोरै विक्री गरेर नुनतेल खानेसम्म पुग्ने उनी बताउँछिन् ।

उनले भनिन्, ‘बजारको तरकारीमा कति विषादी हुन्छ थाहा हुँदैन । आफूले लगाएको ताजा र कम बिषादी प्रयोग भएको तरकारी खान पाइएको छ ।’ तरकारीको मौसममा नुन तेल खर्चसमेत तरकारी बिक्री गरेर पुग्ने उनको भनाइ छ । अहिले उनको कौसीमा बोडी, काँक्रो, खुर्सानी, भिन्डी करेलालगायतका तरकारी खानका लागि तयारी अवस्थामा रहेका छन् ।

थोरै ठाउँमा भए पनि आफूलाई पर्याप्त तरकारी उत्पादन भएको उनले बताइन् । उनले थपिन्, ‘बर्सातको समयमा पानी तालियर केही खेती नहुने ठाउँमा कौसीमा तरकारी लगाएर खाँदै आएका छौ ।’

दीपज्योति आमा समूहमा रहेका ४५ महिलाले अहिले तरकारी खेती गरिरहेका छन् । तीमध्ये गत वर्षदेखि गर्दै आएका २५ र अहिले नयाँ शुरु गरेका २० जना रहेको आमा समूहका अध्यक्ष महेश्वरी राईले बताइन् । कौसी खेती गर्न लागेपछि यस टोलका महिलालाई तरकारी किन्न जानुपर्ने बाध्यता हटेको उनले बताइन् । ‘अहिले यहाँका महिला दिदीबहिनीले प्राङ्गारिक मलसमेत आफैँ उत्पादन गर्दै आएकी छन्’, उनले भनिन् ।

दीपज्योति टोल विकास संस्थाका उपाध्यक्ष शुभद्रा रेग्मी कृषि ज्ञान केन्द्र भरतपुरको ५० प्रतिशत अनुदानमा कौसी खेती कार्यक्रम गरिएको बताउँछन् । अहिले टोल विकास संस्थामा आबद्ध २०५ घरधुरी रहेको र यी सबै घरमा कौसी खेती पुर्‍याउने योजनाअनुसार काम अघि बढेको उनको भनाइ छ ।

ज्ञान केन्द्रका प्रमुख राजन ढकाल २५ जनाभन्दा बढीको समूह बनाएर आएमा केन्द्रले अनुदान दिने बताए । समूहमा आउनेमध्ये प्रतिव्यक्ति रू. १० हजारसम्म अनुदानको व्यवस्था रहेको उनले जानकारी दिए । दैनिक उपभोग गर्ने खुर्सानी, धनियाँ जस्ता तरकारी थप उपयोगी हुने उनको भनाइ छ ।

जग्गा खण्डीकरण भएर सानो सानो टुक्रा भइरहेको समयमा यो प्रभावकारी हुने ढकालले बताए । यसले हरियाली र घरको सुन्दरता बढाउने उनको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button